घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थाले

सहयात्रा टिभी

काठमाडौं । माघ २२, हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन्।

मङ्गलबार मात्रै अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँमा पाँच गाईबस्तु अकस्मात मरेको स्थानीयवासी राजबहादुर बुमीले बताए । उनले भने, “के कति कारणले, कस्तो रोगले मरेका हुन् त्यसको बारेमा थाहा छैन्, अकस्मात पशु मर्न थालेका छन्” । यस्तै केही दिनअघि पनि धेरै ठाउँमा गाईबस्तु मरेको खबर आएका छन् । उनले अहिलेसम्म रोगको पहिचान हुन नसकेको बताए । “रोग पहिचान हुन नसक्दा उपचार नपाएर गाईबस्तु मर्ने क्रम जारी छ”, उनले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।” अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थलगत निरीक्षण गरे मात्र भन्न सकिने बुमीले बताए ।
सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा गाईबस्तु मर्न थालेको बुमीको गुनासो छ । यस सम्बन्धी कार्यालयमा कुनै जानकारी वा सूचना नआएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्