चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने
काठमाडौँ । माघ २४, चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने प्रतिबद्धता जनाएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोनाको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले खोप उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री ज्ञवाली र चिनिया विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता भएको हो।
यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङले भने दूतावासले जानकारी दिएको भन्दा दुई लाख डोज बढी खोप अनुदानमा दिने बताएका हुन् । वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । ज्ञवाली र वाङबीच दुई मुलुकको आपसी चासोका विषयमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाई यसअघि भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता अस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोभिसिल्ड खोप अनुदानमा दिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो ।
भारतले दिएको खोप कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंतिमा खटिने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र फोहोर व्यवस्थापनमा खटिने कर्मचारीलगायतलाई पहिलो चरणमा लगाइएको छ।
पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै छ । शुक्रबारसम्म १ लाख ७१ हजार ४ सय ८६ जनालाई खोप लगाइएको छ ।