टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । माघ २५, मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गए राति हिउँमा चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका–२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते हुनेमा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, उहाँकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।