फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार
काठमाडौं । माघ २५, फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । सुरूको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनः निर्माण गरिएको थियो । त्यसपछि लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको बताईएको छ ।
बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ । कार्यलय प्रमुख किरण आचार्यका अनुसार ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५.७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।