आजदेखि पत्रकारलाई कोरोनाविरुद्धको खोप
काठमाडौं । माघ २६, सरकारले आजदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप पत्रकारलाई उपलब्ध गराउने भएको छ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइसकेपछि आजदेखि पत्रकारलाई लगाउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म अग्रपंतिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण अनुसारको खोप सचिवालयमा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । यस्तै पत्रकार महासंघको सदस्य वा महासंघले सिफारिस गरेका पत्रकारले पनि खोप लगाउन पाउनेछन् । खोप विहान १० बजे देखि ४ बजेसम्म लगाइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।