चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान
काठमाडौं । माघ २६, नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनु भयो ।
उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ । गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् । सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्ने उक्त क्षेत्रका १०१ वर्षीया एकल महिला गोरखा नगरपालिका–४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ छन् । उक्त सम्मेलनमा सहभागी हुन छ हजार ४९४ ले नाम दर्ता गराइसकेको सेनाले जनाएको छ । सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले सुन्नेछ भने उनीहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै छ ।