सवारी साधनमा इम्बोस्ड नं प्लेट अङ्ग्रेजी भाषामा नै हुनु पर्ने
काठमाडौं। माघ २६, यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण अङ्ग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अङ्ग्रेजीमा नै गरिने बताएको हो । विभागले विभिन्न कार्यालयमार्फत इम्बोस्ड नं प्लेट वितरण अघि बढाइरहेको छ । नयाँ सबै सवारीसाधनमा र थोरै सङ्ख्यामा पुरानो सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण भइरहेको बताईएको छ ।
मन्त्रालयले गत साउनदेखि वाग्मती प्रदेशबाट सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण शुरु गरेको थियो । सवारीधनीले दुईपाङ्ग्रे सवारीसाधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नं लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नं प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले सो नं प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार २०० र ठूला सवारीका लागि तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।