भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि

सहयात्रा टिभी

धनगढी । माघ २६,  बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ ।


जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उत्तम सुवेदीका अनुसार ‘पोस्टमार्टममा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखायो उनले भने ।’

डीआईजी सुवेदीले सामूहिक बलात्कार हो वा होइन भन्नेबारेमा थप परीक्षण भइरहेको जानकारी दिए । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको डीआईजी सुवेदीले बताए । पोस्टमार्टम रिपोर्ट प्रहरीलाई दिइएको छ । बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । घाँटी निमोठेको र अन्य केही भित्री चोटहरू पनि छन् । थप अनुसन्धान भने जारी छ ।’

गएको बुधवार विद्यालयबाट फर्किने क्रममा हराएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।

अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्