एनआरएनए टोली परराष्ट्र मन्त्रालयमा

सहयात्रा टिभी

काठमाडौं । माघ २८, नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त बीच विशेष भेटघाट भएको छ । अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराउनुभयो । विशेष महाधिवेशनले विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गराइ आगामी दिनमा पनि एक ढिक्का भई अघि बढ्न थप प्रोत्साहित गरेको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

अध्यक्ष पन्तले नेपालमा एनआरएन फाउण्डेशन संघको विधान अनुसार परराष्ट्र मन्त्रालयमै दर्ता गर्न स्वीकृति प्रदान गर्न सुझाव पेश गर्दै गैरआवासीय नेपाली संघले सञ्चालन गरेको कोभिड –१९ रेशपोन्स् टु नेपाली माइग्रेट वर्करस् परियोजना सहज रुपमा कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माण गर्न समेत अनुरोध गर्नुभयो । यस्तै कानून आयोगले तयार परेको एनआरएनए ऐन। २०६४ को संशोधन प्रस्ताव र गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक यथाशक्य छिटो पारित गर्ने वातावरण निर्माणका लागि अनुरोध समेत गर्नुभयो ।

अध्यक्ष पन्तले संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानूनी अड्चन फुकाई सहज रुपमा लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो । एनआरएनए ऐन र वैदेशिक लगानी ऐन २०७२ बाँझिएकोले त्यसलाई एनआरएनए ऐन मा भएको व्यवस्था अनुसार नै कायम गरिदिन अध्यक्ष पन्तले अनुरोध गर्नु भयो । सो अवसरमा अध्यक्ष पन्तले एनआरएन बैंकको अवधारणा समेत पेश गर्दै त्यसको स्थापनाको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले अत्यन्तै सौहाद्रपूर्ण र व्यवस्थित रुपमा विशेष महाधिवेशन सम्पन्न गरेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई बधाई ज्ञापन गर्नुभयो । साथै सर्वसम्मतिमा विधान संशोधन अनुमोदन भएकोमा खुशी व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले संघले ध्यानाकर्षण गराएका र पटक–पटक आग्रह गर्दै आएका सबै विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले सरकारले जी टु जी माध्यमबाट विभिन्न राष्ट्रसंग कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउन पत्राचार गरेको जानकारी गराउँदै त्यसको विश्वसनियता, आपूर्तिको अवस्था, वितरण तथा भण्डारणका मापदण्ड अनुसार उपयुक्त आपूर्तिकर्ता छनोट गर्ने प्रक्रियाको थालनी गरेको बताउनुभयो । संघले खोप उपलब्धता सहजिकरणका लागि देखाएको जिज्ञासा सकारात्मक भएको भन्दै उहाँले त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गर्न अध्यक्ष पन्तलाई आग्रह गर्नुभयो ।

 

 

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्