भागरथी हत्या प्रकरण स्थलगत अवलोकन र अध्ययनका लागि केन्द्रीय प्रतिनिधि बैतडीमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०२, बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने बताइएको छ । केन्द्रीय प्रतिनिधि लेखकले आज घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने उनले बताए । यसअघि शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गरेका थिए । कांग्रेसले नेता लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने भनिएको छ ।

भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी हुन् । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ । यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

घटनापश्चात घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ ।

प्रकाशित : 14 February, 2021

प्रतिक्रिया दिनुहोस्