उत्तराखण्ड स्थित हिमपहिरो लगतै आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५०
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०३, भारतको उत्तराखण्डमा हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ । उत्तराखण्डको चमोली जिल्लाको तपोवन सुरुङमा थप १२ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको भारतीय सञ्चारमाध्यमले बताएको छ ।
उत्तराखण्डमा गएको माघ २५ गते हिमपहिरोपछि बाढी आएको थियो । बाढीले चार वटा जलविद्युत् आयोजनामा क्षती गर्नुको साथै १३ वटा भन्दा धेरै गाउँमा क्षति पुर्याएको थियो । उद्धारकर्ताको टोलीले सुरुङमा फसेकाहरूलाई अझै बचाउने आश रहेको बताएका छन् । यस सुरुङमा ३२ जना कामदार अझै पनि फसेको हुन सक्ने आशङ्का गरिएको छ । बाढीमा परेर अझै एक सय ५० भन्दा धेरै हराइरहेको अधिकारीहरूले बताएका छन् ।