प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दावारे दुवै पक्षको बहस सकियो, मंगलबारदेखि “एमिकस क्युरी” को बहस
काठमाडौं । फाल्गुन ०३, प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको सुनुवाइमा १३ वटा रिटमाथि निवेदकका तर्फबाट दुवै पक्षको बहस सकिएको छ । अव मंगलबारदेखि एमिकस क्युरीकोतर्फबाट बहस शुरु हुने छ ।
सोमबार जवाफी वहसमा सहभागी हुँदै अधिवक्ता टीकाराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली बहुदलीय व्यवस्थाका लागि नै खतराको रुपमा देखापरेको आरोप लगाए । प्रधानमन्त्री ओलीको कदमले बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको अधिवक्ता भट्टराईको भनाई थियो ।
यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको जिकिर गरे । थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएको दाबी गरे ।
अब मङ्गलवारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को राय सुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्युरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।