डब्ल्यूएचओले अक्सफोर्ड–एस्ट्राजेनेकोलाई दियो कोरोना खोपको अनुमति
काठमाडौं । फाल्गुन ०४, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओका विशेषज्ञहरुको समूहले गरेको सिफारिसअनुसार यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको बताईएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अहिले तीव्र गतिमा खोप वितरणको लागि केही खोप रहेको तर खोप उत्पादन बढाउनु आवश्यक रहेको बताएका छन् । डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै तुलनात्मकरुपमा सस्तो मानिएको दक्षिण कोरियाको एस्ट्राजेनेका एसकेबायो र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको सोही खोपलाई पनि अनुमति दिएको बताएको छ । तुलनात्मकरुपमा सस्तो र सामान्य तापक्रममा पनि राख्न सकिने भएकाले अहिले विश्वभर एस्ट्राजेनेकाको खोपको माग अत्यधिक छ ।