उत्तरी नाकाहरु घरी खुल्ने घरी बन्द हुने
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०५, नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो। जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्ने गरीएको छ। पछिल्लो समय बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।
दुई राष्ट्रबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो। त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौताअनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए। तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको बताईएको छ।