भागरथीको हत्यामा संलग्न किशोरलाई आज सार्वजनिक गरिँदै
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका – ७ की किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
गत माघ २१ गते साँझ घर नफर्किएपछि खोजी गर्दा त्यसको भोलिपल्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो ।
१७ वर्षीया किशोरी भागरथीको हत्यामा भाइ नाता पर्ने स्थानीय दिनेश भट्टको संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिनु भएको छ ।
प्रहरीले भट्टलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । भट्टले भागरथीको हत्या गर्ने योजनाअनुसार जंगलमा पर्खेर बसेको बयान दिएका छन् ।
दुई परिवारबीचको लामो समयदेखिको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बताएका छन् । भागरथीको हत्यापछि न्यायको माग गर्दै भएको प्रदर्शनमा समेत भट्ट सहभागी भएको खुलेको छ ।