चुरियामाई सुरुङमार्गको पुनः निर्माणका लागि बोलपत्र आह्वान
काठमाडौं । फल्गुन ०७, एसियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनः निर्माणका लागि बिहीवार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोड रुपैयाँको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेवबहादुर भण्डारीले बताउनुभयो ।
प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । यस मार्गबाट वि.सं २०२० सम्म गाडी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् । आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एसिया मै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेख्नुभएको छ । उहाँले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गर्नुभएको छ ।