तराईमा प्याराग्लाइडिङ्ग उडान परीक्षण सफल
काठमाडौं । फाल्गुन ११, पहाडमा मात्र प्याराग्लाइडिङ्ग सम्भव छ भन्ने कुरालाई तोड्दै नवलपुरका युवाहरूले पहिलो पटक तराईमा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरेका छन् । समुन्द्र सतहदेखि ९ सय मिटर उचाइमा रहेको बालुवाडाँडाबाट प्याराग्लाइडिङ्गका सफल उडान गरिएको बालुवाडाँडा पर्यटन युवा सञ्जालका अध्यक्ष उमेश रानाले बताउनु भयो ।
परीक्षण उडानका लागि पोखरामा रहेको क्लाउड बेस प्याराग्लाइडिङ्ग प्रा।लि र पिस हिमालयन प्याराग्लाइडिङ्ग प्रालिले समन्वय गरेका हुन् । प्याराग्लाइडिङ्गका क्याप्टेन पाइलट हरि पहारीले कावासोती नगरपालिका– १ को बालुवाडाँडा क्षेत्र प्याराग्लाइडिङ्गका लागि अत्यन्त सम्भावना बोकेको र प्राकृतिक र प्राविधिक रूपमा समेत उपयुक्त स्थान भएको बताउनुभयो । ९ सय मिटर उचाइबाट उडान गरेर २ सय मिटर उचाइको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ्ग ल्याण्ड गरिएको छ । पोखरा पछि नवलपुरमा प्याराग्लाइडिङ्गको सम्भावना रहेको उडानले प्रमाणित गरेको छ । नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर यहाँका युवाहरूले पर्यटकीय गतिविधि बढाउन प्याराग्लाइडिङ्ग परीक्षण गरेका हुन् । नवलपुरको आकाशमा प्याराग्लाइडिङ्ग उडान भरेको हेर्न बालुवाडाँडामा युवाहरूको भिड लागेको थियो । परीक्षण उडान भए पनि यहाँका धेरैजसो पर्यटन व्यवसायीहरूले बालुवाडाँडाबाट नियमित उडान गर्नु पर्ने माग गरेका थिए ।