फैसला विवादास्पद, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न : प्रेस सल्लाहकार
काठमाडौं । फागुन १२, प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले सर्वोच्च अदालतले गरेको संसद पुन:स्थापनाको फैसला विवादास्पद भएको तर त्यसलाई मान्नुपर्छ भनेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार राति सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको फैसला “विवादास्पद” भएको तर त्यसलाई “मान्नुपर्छ” भनेर प्रतिक्रिया दिएका छन् ।
साथै, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नु हुने उल्लेख गर्दै ‘तत्काल राजीनामा दिनुहुने छैन’ उनले लेखेका छन् ।
‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।’ प्रेस सल्लाहकार थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’
यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै सर्वोच्चको फैसला सबैले मान्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन।’
ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि ट्वीट गर्दै फैसलाले “मुलुकको जटिल राजनीतिलाई निकास दिँदैन” भनेका छन् ।