माधवनारायणमा व्रत बसेका व्रतालुु चाँगुनारायणमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, पौष शुक्ल पूर्णिमादेखि शालीनदीमा माधवनारायणको व्रत बसेका व्रतालुु मंगलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् । व्रतालुु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा रहेको छ ।

माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि व्रतालुु मंगलबार राति १० बजेपछि चाँगुनारायण पुगेका थिए । माघ शुक्ल पूणिर्मासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा व्रतालुुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्