अबको संवैधानिक नियुक्ति के हुन्छ ?

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, प्रतिनिधि सभा विघटन गरेको ६५ दिनपछि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै संसदलाई छलेर संसदीय सुनुवाइबिना यसबीचमा भएका विभिन्न संवैधानिक निकायका नियुक्तिहरु अब के हुन्छ भन्ने सर्वत्र चासोमा रहेको छ । यस विषयका जानकारहरु भने सर्वोच्च अदालतको निर्णयसँगै ती नियुक्तिहरु पनि स्वतः खारेज हुने समेत बताउँछन् ।

‘संसदलाई अवरुद्ध गरेपछि सबै शून्य हुन्छ भनेर फैसला भएकाले संसदलाई मान्यता नदिइकन गरेका कामकारवाहीहरु सवै शून्य नै हुन्छन् । ती नियुक्तिहरु पनि शून्यमा जान्छन्’, वरिष्ठ अधिवक्ता थापाको भनाई छ । उनका अनुसार नियुक्ति पाएकाहरुले बरु जानेर आफै राजीनामा गर्नु बुद्धिमता हुनेछ । यदि त्यसरी राजीनामा नगरे संविधानअनुसार संसदले कारवाही प्रक्रिया अघि बढाएर हटाउन सकिनेछ । संवैधानिक निकायमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संविधानविद्, वरिष्ठ अधिवक्तालगायतका मानिसहरुले नै नियुक्ति पाएका छन् ।

कुनैपनि संवैधानिक निकायमा नियुक्ति गर्नुअघि संसदीय सुनुवाइ हुन जरुरी छ । तर, यसबीचमा विभिन्न ११ वटा संवैधानिक निकायमा ३२ जनालाई संसदीय सुनुवाईबिनै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति दिइएको थियो । वरिष्ठ अधिवक्ता शम्भु थापाका अनुसार प्रतिनिधि सभा विघटन बदर भएको सर्वोच्चको फैसलापछि संसदलाई छलेर गरेका ती नियुक्तिहरु पनि स्वतः निष्क्रिय हुनेछन् ।

 

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्