डा. केसीद्वारा सत्याग्रह तत्कालका लागि स्थगित

काठमाडौं । फाल्गुन १२, डा.गोविन्द केसीले फागुन १२ गतेदेखि सुरु गर्ने भनिएको सत्याग्रह तत्कालका लागि स्थगित गर्ने भएका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै विगत केही वर्षदेखि अनसन बस्दै आएका डा.केसीले आज एक विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगित भएको जानकारी दिएका हुन् । जारी विज्ञप्तिमा भनिएको छः ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं ।’
प्रतिनिधिसभा पुनः स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार नपाउने बताउँदै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन नल्याउने उनले दाबी गरेका छन् । उनले भनेका छन्ः ‘ पछिल्ला तीन वर्षमा सरकारते अभिव्यक्ति स्वतन्त्रता खुम्व्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्टयाएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन ।’