पोखरामा आन्तरिक पर्यटकको चहलपहल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १४, आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ। कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेको पाईएको छ ।
पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ। फेवातालमा डुङ्गामा शयर गर्ने र प्याराग्लाइडिङमा रमाउनेहरू पनि उत्तिकै छन्। प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो। कोरोनाले ठप्प प्याराग्लाइडिङमा दसैंपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो।
यसैगरी साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पनि आन्तरिक पर्यटक आउन सुरू भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष किसम गुरुङले लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित व्यवसायी मारमा गएपछि सबैखाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णयपछि स्वदेशी पर्यटक गाउँमा आउन सुरू गरेको बताए।
पर्यटकीयस्थल पर्यटकका लागि खुला भएपछि आन्तरिक पर्यटक बढ्दै गएका हुन्। यसै क्रममा काठमाडौंस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था एक टोलीले फागुन ७ देखि ९ गते पोखरा तथा गण्डकी प्रदेशका लमजुङ, क्होंलासोंथर गाउँपालिका–३ को रमणीय बस्ती रहेको घलेगाउँको समेत अवलोकन भ्रमण गरेको छ।