घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन विकाशका लागी आफन्त नामक सामाजिक सञ्जाल सञ्चालन

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन १४, लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्नुका साथै उद्यमशीलता विकाश गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गरे।

वेवसाइट तथा एप दुबै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । यो एप एन्ड्रोइड र आइओएस दुबै भर्सनमा डाउनलोड गर्न सकिने कम्पनीले बताएको छ ।

कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनको भनाई छ । विभिन्न कालखण्डमा नेपालमा रहेर वा नरही नेपाललाई माया गर्ने गैर नेपाली र नेपाली समुदायबीच अन्तरक्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीले बताए । अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने सञ्चालनकर्ता कम्पनी आफन्त नेपाल प्रालिले जनाएको छ ।

 

 

 

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्