पाटन दरबार अवस्थित महापाल क्षेत्र मंगलबारदेखि ‘वान वे’

काठमाडौं । फाल्गुन १८, ललितपुर महानगरपालिकाले पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने सबै किसिमका सवारी साधन निषेध गरेको छ। अधिक जाम हुने यो क्षेत्रमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म सबै सवारीसाधन वान वे गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन्।
मन्दिरै मन्दिर भएको यो क्षेत्रमा दर्शनार्थीको पनि उत्तिकै भिड हुने, बाटो हिड्न अफ्ठ्यारो हुने र दुर्घटनाको सम्भावना भएकाले यो क्षेत्रलाई वान वे गरिएको ललितपुर महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए। इखालखुको वाटो निषेश गरे पनि मंगलबजारबाट लगनखेलतर्फ अलिकति अगाडि बढेर दायाँ मोडिने र गाबाहालबाट भित्र छिरेपछि पूर्णचण्डी मन्दिरलाई बायाँ पारेर जानुपर्ने हाछेथुले बताए। ललितपुरका विभिन्न पुरातात्विक महत्वका मठ मन्दिर भएका स्थानलाई क्रमशः वान वे गरेर सवारी साधन व्यवस्थित पारिने महानगरले जनाएको छ।