होटलमा आगलागीहुदाँ ४० लाख बराबरको क्षति

काठमाडौं । फाल्गुन १८, तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा सोमबार अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । सो होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको समेत उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन भने होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।