देशकै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट क्षमताको विद्युत् उत्पादन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।

आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर-वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । उक्त विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्याइएको एक महिनाभित्रै पाँच मेगावाट विद्युत् थप हुने देखिएको छ । उक्त थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिए । “यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ । यसले विद्युत् सङ्कट बढाउन सक्ने देखिन्छ”, उनले भने, “अभाव पूरा गर्नका लागि वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।”

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ । करिब रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिएकाले यस आयोजना विद्युत् उत्पादनका लागि महङ्गो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्