पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु

काठमाडौं । फाल्गुन १८, वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
हेटौँडा–४ लोकतान्त्रिक (हुप्र) चौरमा महिलातर्फ १० र पुरुषतर्फ १३ टोलीको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः रु ५० हजार र ३० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही रु दुई हजार ५००, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ । कूल रु छ लाख लागतमा सञ्चालन हुने खेलमा हेटौँडा उपमहानगरपालिकाले रु दुई लाख ५० हजार र प्रदेश खेलकूद विकास परिषद्ले रु ३० हजार सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ ।