म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, म्यानमारमा सैन्य कू पछि चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले दमन गर्दा बुधबारमात्रै चार बालबालिकासहित ३८ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार बुधबारमात्रै सेना र प्रहरीले चलाएको गोली लागी कम्तिमा ३८ जनाको मृत्यु भएको हो। फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि भएका प्रदर्शनमा एकैदिन यति धेरै मानिस मारिएको यो पहिलो पटक हो ।

म्यानमारका छिमेकी देशहरूले जुन्ता सरकारलाई संयमता अपनाउन आग्रह गरेकै अर्को दिन सुरक्षाकर्मीहरूले देशका विभिन्न सहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।

‘यो निकै डरलाग्दो छ, यो नरसंहार हो । यहाँको अवस्था र हाम्रो भावना अभिव्यक्त गर्ने कुनै शब्द छैन,’ एक जना युवा प्रदर्शनकारीले समाचार संस्था रोयटर्ससँग भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बुधबारको प्रदर्शनमा सहभागी भएकाहरूमध्ये सयौंलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

‘फेब्रअरी १ मा सेनाले सत्ता लिएपछि आज सबैभन्दा रक्तपातपूर्ण दिन भयो । आजमात्र ३८ मानिसले ज्यान गुमाए । कूपछि अहिलेसम्म ५० बढी मानिस मारिएका छन् र कैयौं घाइते भएका छन्,’ म्यानमारका लागि संयुक्त राष्ट्र संघका महासचिवकी विशेष प्रतिनिधि क्रिस्टिन स्च्रानर बर्जनरले भनिन् ।

बर्जनरले आफूले सेनाका उपप्रमुखसँग कूपछि सेनाले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबन्ध भोग्नुपर्ने एक्लिनु पर्ने चेतावनी दिएको बताइन् । सेनाका उपप्रमुखले पहिला पनि प्रतिबन्ध भोगेकाले त्यसले फरक नपार्न र आफूहरूले केही मित्र राष्ट्रहरूसँग मात्र सम्बन्ध बनाएर अघि बढ्न सिकिसकेको जवाफ दिएको उनले बताइन् ।

म्यानमारको अवस्थाबारे छलफल गर्न शुक्रबार राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्दैछ ।

प्रकाशित : 4 March, 2021

प्रतिक्रिया दिनुहोस्