बी डिभिजन लिगमा आज पनि २ खेल हुँदै

काठमाडौं । फाल्गुन २०, राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई वटा खेल हुँदैछन् ।एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा झम्सीखेल युथ क्लब र श्रीभगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । मध्यान्ह सवा १२ बजे शुरुहुने खेलमा झम्सिखेल दोस्रो जितको खोजिमा हुनेछ । अहिलेसम्म एक खेल मात्रै जितेको झम्सिखेल तीन खेलमा ड्र खेल्दा बाँकी चार खेल गुमाएको छ । झम्सिखेल ६ अंकका साथ ११ औं स्थानमा रहेको छ ।
आज हुन गईरहेको खेलमा विजयी भए झम्सिखेल आठौं स्थानमा उक्लने छ भने श्रीभगवती क्लबले पनि जारी लिगमा एक खेलमा जीत र तीन खेलमा ड्र र चार खेलमा पराजय भोगेको छ । तालिकामा ६ अंक नै जोडेको श्रीभगवती पनि दोस्रो जितकै खोजिमा हुने छ । भगवती विजयी भए पनि तालिकाको आठौं स्थानमा उक्लने छ । यस्तै आज दिउँसो साढे ३ बजे शुरु हुने दोस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र श्रीकुमारी क्लब आमने सामने हुने छन् । त्यस्तै हिजो भएको अर्को खेलमा खुमलटार युथ क्लबले डिभाइन ब्वाइज युनियन क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।