नाका सञ्चालन नहुदाँ समस्या

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २०, जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका ९घाट० पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए । शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् । घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था रहेको छ । यसका साथै दैनिक उपभोग्य सामानसमेत महँगो खरिद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महताले बताए ।

स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाट खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए । उनले भने, “घाट खोल्ने विषय अन्तर्राष्ट्रिय मामिला भएकाले स्थानीय सरकारले खोल्न सक्दैन, हामीले सङ्घीय सरकारलाई आग्रह गरेका छौँ ।” यता घाट खोल्नका लागि सरकारले नै निर्णय गर्नुपर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

प्रकाशित : 4 March, 2021

प्रतिक्रिया दिनुहोस्