‘जीवन हो घाम छाया, सुख दुःख दुबै हुन्छ’ नेपथ्यको लाइभ भिडिओ सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २०, गत वर्ष यतिबेलै नेपथ्य ब्यान्डले सांगीतिक प्रस्तुति गरेको थियो। गत वर्षको फागुन १७ गते भएको सो प्रस्तुति भूकम्पको कारण क्षतिग्रस्त दोलखाको एक सरकारी विद्यालय निर्माणका लागि आयोजना गरिएको थियो। कोरोना महामारीका कारण गर्नुपरेको विश्रामपछि नेपथ्यले आफ्नो एउटा सदाबहार हिट गीतको ‘लाइभ भिडिओ’ सार्वजनिक गरेको छ।
जीवन हो घाम छाया, सुख दुःख दुबै हुन्छ’
परिस्थितिसँग लडेर बाँच्नु नै मानव जीवनको यथार्थ हो। यो यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना यस गीतले बोकेको छ। यो गीत नेपथ्यले दुइ दशकअघिको चर्चित एल्बम ‘रेशम’मा समेटेको थियो। यो गीत पोखराका संगीतकर्मी श्यामसुङ तामाङले तयार पारेका हुन्। ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गर्थ्यौं,’ गायक अमृत गुरुङ सम्झन्छन्, ‘असाध्यै मन परेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं।’
‘कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ।’ यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो। पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडिओ’ तयार पारिएको बताइएको छ।