अनिवार्य प्रकाशन गर्नुपर्ने विवरण नेप्से नै लुकाउँछ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २०, नेपाल स्टक एक्सचेन्ज नेप्सेले नियमित रुपमा हरेक त्रैमासमा सार्वजनिक गर्नु पर्ने सूचना तथा जानकारी नै प्रकाशन नगरेको पाईएको छ । नेप्सेले सूचनाको हक सम्बन्धी ऐन २०६४ ले निर्दिष्ट गरे अनुरुपमा विवरण सार्वजनिक नगरेको हो । ऐनको दफा ५ को ३ मा हरेक सार्वजनिक निकायले सो निकायसँग सम्बन्धित देहायका सूचना सूचीकृत गरी प्रकाशन गर्नु पर्ने ब्यबस्था रहेको छ। ऐनमा भएको सार्वजनिक निकायको परिभाषा भित्र नेप्से पनि पदर्छ । तर नेप्सेले भने हालसम्म सो विवरण सार्वजनिक नगरेको पाईएको छ ।

ऐन अनुसार हरेक सार्वजनिक निकायले निकायको स्वरुप र प्रकृति, निकायको काम, कर्तव्य र अधिकार, निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण, निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि, निर्णय गर्ने प्रक्रिया र अधिकारी, निर्णयउपर उजुरी सुन्ने अधिकारी, सम्पादन गरेको कामको विवरण, सूचना अधिकारी र प्रमुखको नाम र पद, ऐन, नियम, विनियम वा निर्देशिकाको सूची, आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण, र तोकिए बमोजिमका अन्य विवरण सार्वजनिक गर्नु पर्ने ब्यबस्था गरेको छ। हरेक सार्वजनिक निकायले यी विवरण प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नु पर्ने ब्यबस्था ऐनले गरेको छ । तर नेप्सेले हालसम्म पनि ति विवरण सार्वजनिक गर्ने गरेको छैन । ऐनले हरेक सार्वजनिक निकायमा सूचना अधिकारी तोक्नु पर्ने समेत ब्यबस्था गरेको छ । तर गत असारसम्म नेप्सेले सूचना अधिकारीको ब्यबस्था गरेको थिएन ।

नेप्से बाहेक शेयर बजार सम्बद्द अन्य निकायले भने नियमित रुपमा विवरण प्रकाशन गर्दै आएका छन् । नेपाल धितोपत्र बोर्ड, बीमा समिति, राष्ट्र बैंकले नियमित रुपमा ऐनको दफा ५ को उपदफा ३ बमोजिम नै विवरण आफ्नो वेबसाइट मार्फत प्रकाशन गर्दै आएका छन् । बोर्डले आफ्नो वेबसाइटको मेनु बारे मै आरटिआई नामको मेनु बनाएर त्यस भित्र यी विवरण राख्दै आएको छ । राष्ट्र बैंकले भने आफ्नो वेबसाइटको पुछारमा राइट टु इन्फर्मेशन शिर्षकमा यी विवरण अध्यावधिक गर्दै आएको छ।

प्रकाशित : 4 March, 2021

प्रतिक्रिया दिनुहोस्