अस्ट्रेलियाको शानदार जित, आइतबार सिरिजको छिनोफानो हुने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको २०-२० क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५० रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा दुई–दुई को बराबरी गरेको छ । १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १८.५ ओभरमा १ सय ६ रन बनाएर अलआउट हुँदा अस्ट्रेलियाले शानदार जित हात पारेको हो ।

न्यूजिल्याण्डका लागि केल जेमिसनले ३०, टीम सेफर्टले १९ तथा डेभन केन्वेलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । अस्ट्रेलियाका केन रिचर्डससनले ३ तथा ग्लेन म्याक्सवेल, एडम जाम्पा र एस्टन अगरले समान २-२ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कप्नान एरोन फिन्चले ७९ रनको अर्धशतकीय पारी खेले । पाँच खेलको सिरिजमा न्यूजिल्याण्ड र अस्ट्रेलियाले समान दुई-दुई जित निकालेका छन् । सिरिजको छिनोफानो आइतबार हुने खेलले गर्नेछ । सिरिजको पाँचौं तथा अन्तिम ट्वान्टी–ट्वान्टी खेल नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजेबाट सुरु हुनेछ ।

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्