स्वीरजल्याण्डमा बुर्कामाथिको प्रतिबन्धको समर्थनमा भोट
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । फागुन २४, स्वीट्जरल्यान्डमा सार्वजनिक रुपमा अनुहार ढाक्ने प्रतिबन्धको पक्षमा मानिसहरुले भोट गरेका छन् । हालै भएको जनमत संग्रहमा अनुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको प्रस्तावलाई झिनो बहुमतले समर्थन गरेका हुन् ।
योसँगै अब महिलाहरुले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत संग्रह गरिएको बीबीसीले जनाएको छ ।
आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१ दशमलव २ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८ दशमलव ८ प्रतिशत मानिसले मतदान गरेका थिए ।
तर स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’ भएको टिप्पणी गरेको छ ।स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो ।
कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई इस्लामप्रति त्रास फैलाउने खालको भएको बताएका छन् । स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन् ।
अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ । स्वीट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ ।
उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत संग्रहमा सहभागी गराइन्छ ।सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ ।
फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो ।