कस्तो छ त आगामी आ.व. २०७८/७९ को बजेट तयारी ?

सहयात्रा टिभी

 

काठमाडौं । फाल्गुन २४, अर्थ मन्त्रालय र मातहतका निकाय आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको तयारीमा जुटेका छन् । बजेट सिलिङ र ढाँचामा बजेट अनुमान गरी अर्थ मन्त्रालयलाई बुझाउन राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा सम्बन्धित मन्त्रालय र निकायहरुलाई पठाइसकेको बताईएको छ । जसअनुसार विभागीय मन्त्रालयहरुले कोभिड १९ को असर तथा प्रभाव सम्बोधन हुने गरी बजेट बनाउनु पर्ने भएको छ ।

योजना आयोगका अनुसार कोभिड १९ बाट प्रभावित क्षेत्ररउपक्षेत्रलाई प्राथमिकता दिएर रोजगारी सिर्जना तथा शीघ्र अर्थतन्त्र पुनरुत्थान हुने गरी वाषिर्क विकास कार्यक्रम, बजेट र मध्यमकालिन खर्च संरचना बनाउनु पर्ने भएको छ ।

मध्यमकालीन खर्च संरचना ०७७/७८–०७९/८० अनुसार आगामी आव ०७८/७९ मा १७ खर्ब हाराहारीको बजेट बन्नेछ । सो प्रक्षेपण चालु आवको बजेट १४ खर्ब ७४ अर्ब र त्यसमा हुने आर्थिक वृद्धिको अनुमानका आधारमा गरिएको हो । चालु आवमा सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरेको थियो । तर, पहिलो त्रैमासिक तथ्यांकले यो लक्ष्य पूरा नहुने देखाएको छ । मध्यमकालीन खर्च संरचनाले तोकेको आँकडाकै नजिक रहेर यो वर्षको बजेट सिलिङ तयार भएको आयोगका एक अधिकारीले बताए । मध्यमकालीन खर्च संरचनाले अनुमान गरेको आगामी आवको बजेटको आकार १६ खर्ब ९७ अर्ब ५७ करोड हो ।

आगामी आवको बजेट बनाउँदा राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनालाई भने बजेट सुनिश्चित गर्नुपर्ने भएको छ । गौरवका आयोजना, रुपान्तरणकारी आयोजना, प्रमुख कार्यक्रम तथा उच्च प्राथमिकतामा रहेको राष्ट्रिय महत्वका आयोजनालाई बजेट सीमा उपलब्ध गराउँदा नै सुनिश्चित गर्न आयोगले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ५ वर्षे अवधि गत पुसमै सकिएकोमा सरकारले १ वर्ष थप गरेको छ । प्राधिकरण मातहत संचालनमा रहेका आयोजना चालु आव ०७७/७७ मै पूरा गर्ने लक्ष्य छ । यसरी पूरा हुन नसक्ने अवस्थामा भने आगामी आवको बजेटमै ती कार्यक्रम विभागीय मन्त्रालयको जिम्मामा राख्नु पर्ने भएको छ ।

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्