यस्ता छन् डिजिटल भुक्तानीको फाइदा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, हिजोआज जनक शर्माको दैनिकी स्टाइल परिवर्तन भएको छ । उनी एक यस्ता व्यक्ति हुन् कि जहाँ, जता जाँदा पनि प्रायः पैसा साथमा बोक्न रुचाउँदैनन्, बोक्नै परेमा अलिअलि मात्र बोक्छन् ।

नेपालमा दुई–तीन वर्ष अघिबाट विकास भएका प्रविधिले उनको ध्यान खिचेको छ । उनी हरेक कार्य गर्नका लागि स्मार्ट बैंकिङको प्रयोग गर्न रुचाउँछन् । नगद बोकेर हिँड्दा हराउन सक्छ, चोरी हुन सक्छ अनि बढी फजुल खर्चसमेत हुन्छ । तर, स्मार्ट बैंकिङ प्रयोग गर्दा फजुल खर्च हुँदैन । त्यसैले फजुल खर्च नहुनु भनेको पनि एक किसिमको बचत नै हुने उनी बताउँछन् ।

आजभोलि जनक शर्माजस्ता हजारौं मानिसले स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न बढी रुचाउन थालेका छन् । आज पानी, बत्ती, रिचार्ज, तरकारी पसलदेखि खाद्यान्न पसल, रेस्टुराँदेखि अधिकांश सपिङ मलसम्म स्मार्ट बैंकिङ सेवा सञ्चालन भइसकेका छन्, जसको आवश्यकता दिनानुदिन बढ्दै गइरहेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल, तरकारी बजारमा शुभारम्भ गरेको क्यूआर कोर्ड भुक्तानी सेवा आज देशैभरि अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरी देशलाई नयाँ युगमा प्रवेश गराएको अनुभूति हामीहरूले गरेका छौं । एक दशक अगाडिदेखि सेवा प्रारम्भ गरेको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा, आईएमई पे, खल्तीमार्फत मानिसहरूले आफ्नो दैनिकी सरल बनाउँदै गइरहेका छन् ।

ती सेवाप्रदायकहरूका माध्यमबाट समेत मानिसहरूले पानी, बत्ती, हवाई, केबुलकार, रेमिट्यान्स तथा अन्तरबैंकिङ सेवा सुचारु गरिरहेका छन्, जसका कारण घण्टौंसम्म बैंकमा लाइन बसेर नगद कारोबार गर्नुपर्ने समयको अन्त्य भएको छ ।

सरकार तथा नियमनकारी निकायहरूले ‘समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराअनुरूप यस किसिमका प्रविधिहरूको प्रयोग गर्दै जनताको कामका लागिसमेत निजी क्षेत्रसँग सहकार्य गर्नु आजको एक प्रमुख आवश्यकता रहेको देखिन्छ । डिजिटल भुक्तानी गर्दा अपनाउनुपर्ने जोखिमलाई व्यवस्थापन गरी पारदर्शी बनाउनुपर्छ ।

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्