‘ट्रेड फेयर २०२१’ सम्पन्न

काठमाडौं । फल्गुन २७, राजधानीमा आयोजित ट्रेड फेयर २०२१ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरले गत सोमबारदेखि तीन दिन आयोजना गरेको ट्रेड फेयर प्रदर्शनी बिहिबार सम्पन्न भएको हो ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सोमबारदेखि राजधानीको होटल र्याडिसनमा आयोजित ट्रेड फेयरमा महिला उद्यमीहरुले उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरु प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीमा उत्कृष्ट सहभागी एवं स्टललाई चेम्बरले पुरस्कृत समेत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो पुस्ताका महिलाहरु घरमा मात्र सीमित नभएर उद्यममा लागेको र यसले समाज सकारात्मक परिवर्तनको लहर ल्याएको बताए । ट्रेड फेयर आयोजक समेत रहेकी नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरुको स्तर तथा क्षमता वृद्धि गर्नका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता अभिवृद्धि गराउन यस्तो प्रदर्शनीको आयोजना गरिएको बताइन् ।