आज वैज्ञानिक आइन्स्टाइन जन्मेको दिन

काठमाडौं । चैत्र ०१, आजकै दिन १४२ वर्ष अघि सन १८७९ मा जन्मेका थिए महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन । यी सैद्धान्तिक भौतिक वैज्ञानिक (theoretical physicist) नभएको भए विज्ञान त हुन्थ्यो तर त्यसको स्वरुप, त्यसको उँचाइ के कस्तो हुन्थ्यो, हामी त्यसको अनुमान लाउन सक्दैनौँ ।
१८ अप्रिल, १९५५ मा यस जगतबाट बिदा हुनुपूर्व विज्ञानका क्षेत्रमा उनले गरेका तमाम अध्ययन, अनुसन्धान, खोजले उनलाई विज्ञानका विभिन्न शाखामा कहिल्यै विस्मृत नहुने गरी स्थापित बनाइसकेको थियो । ‘म प्रतिदिन यस कुराको प्रत्यक्ष अनुभव गर्छु, मेरो भित्री र बाहिरी जीवनको निर्माणमा अनगिन्ती मानिसका हात र मस्तिष्कको भूमिका एवम् सहयोग रहेको छ । यस अनुभूतिको उद्दीपनले मेरो अन्तःकरण सधैँ नै मलाई घचेटी रहेको हुन्छ । म कम्तिमा समाज र विश्वलाई यति त दिन सकौँ जति मैले यसबाट लिएको छ,’ आइन्स्टानको यो महावाणी अझै सान्दर्भिक छ ।