अलैंची र चियाको निर्यातमा वृद्धि
काठमाडौं । चैत्र ०१, चालू आर्थिक वर्षमा निर्यात भएका वस्तु मध्ये सबै भन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको पाईएको छ ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सात महिनामा चियाको निर्यातमा ६३ प्रतिशत र अलैंचीको निर्यातमा ४८ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्ममा ४ अर्ब २८ करोड २२ लाख १४ हजार रुपैयाँ बराबरको ५३ लाख ६२ हजार ३ सय ३३ किलो अलैंची निर्यात भएको बताईएको छ ।
अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ८७ करोड ८५ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ६ सय ५ किलो निर्यात भएको थियो । यस्तै सात महिनाको अवधिमा मुलुकबाट २ अर्ब ९३ करोड ५ लाख २१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७९ करोड २० लाख बराबरकोे चिया निर्यात भएको थियो ।
नेपालमा उत्पादित चिया जर्मनी, जापान, फ्रान्स, अमेरिका, अष्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा ठूलो माग भएपनि नेपाली किसानले अलैलीको उचित मूल्य पाउन सकेका छैनन् ।