डा. नवराज लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०१, कला र साहित्यको माध्यमबाट नेपाली समाजमा महत्वपूर्ण योगदान दिएको भन्दै साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंकले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार शनिबार हेटौंडामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको बताईएको छ ।

मातृभूमि साहित्य समाज मकवानपुरको संयोजनमा हरेक वर्ष साहित्य तथा गीत संगीतको क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई प्रदान गर्ने गरिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलाशका मुख्य न्यायाधीश शेषराज शिवाकोटी, बैंकका निमित्त कार्यकारी निर्देशक जगतकुमार अधिकारी, वरिष्ठ साहित्यकार तुल्सी थापालगायतले लम्साललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । २५ वर्षदेखि रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँदै आएका लम्साललले ‘करण’ र ‘धरा’ गरी दुईवटा महाकाव्य प्रकाशन गरेका छन् । साथै गीति संग्रह, कविता संग्रह गरी झन्डै एक दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेको छ । मातृभूमि साहित्य समाजले लम्सालसहित अन्य दुई जना व्यक्तित्वलाई पनि सम्मानित गरेको छ ।

कार्यक्रमकै बीच हेटौंडेली कवि दिनेश शर्माको कविता संग्रह ’एउटा मृत्यु यो पनि’ विमोचन गरिएको छ । संग्रहमा शर्माले २०४७ सालयता लेखिएका ३१ वटा कविता संग्रहित गरेका छन् । कविता संग्रहमाथि साहित्यकार राजबाबु पहाडीले समालोचनात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा साहित्यकार सानुबाबु खनाल, हेमन्त ढुंगेललगायत एक दर्जन कवि तथा गजलकारले आफ्नो रचना बाचन गरेका थिए । मातृभूमिले शुक्रबार पनि विभिन्न १५ वटा विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको संस्थाका अध्यक्ष माधव पोखरेलले बताए । २०५४ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छन् ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्