डिउटीको समयमा नगरी निजी अस्पतालमा काम गर्ने २ डाक्टर बर्खास्त

काठमाडौं । चैत्र ०१, आफ्नो डिउटीको समयमा काम नगरी निजी अस्पतालमा काम गर्ने दुई जना डाक्टर बर्खास्तमा परेका छन् । हेटौंडा अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालले वर्खास्त गरेको बताईएको छ ।
नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए । डा. अन्सारीविरुद्ध बारम्बार सेवाग्राहीको गुनासो आउने र ड्युटी समयमा धेरै पटक निजी क्लिनिकमा काम गर्दै गरेको अवस्थामा भेटेपछि अस्पतालले बर्खास्त गरेको जनाएको छ। उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफ्नै निजी क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् । बुद्धिराज पाण्डेलाई अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकबाटै औषधि खरिद गर्न बाध्य बनाउने गरेको भन्दै सेवाबाट हटाएको अस्पताल विकास समितिले बताएको छ ।