एनआरएनए यूकेको छैटौं काउन्सिल बैठक सम्पन्न, १३ बुँदे घोषणापत्र जारी

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आइतबार भर्चुअल रुपमा सम्पन्न छैठौं संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) ले १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काउन्सिल बैठकले गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता,भूतपूर्व गोर्खाहरुको समान हक स्थापनाको आन्दोलन, आइसीसीले अघि सारेको स्मार्ट एनआरएनएको अवधारणा, अनलाइन भोटिङ नेपाल सरकारको आर्थिक समृद्धिको लक्ष्य, नेपालको पर्यटन एवम् विदेशी लगानी प्रवर्धन, महिला सशक्तीकरण लगायतका एजेन्डामा प्रतिवद्धतासहित रचनात्मक पहल अघि बढाउन एनआरएनए यूकेलाई सुझाव दिएको बताईएको छ ।

बैठकमा मन्तव्य दिंदै राजदूत लोकदर्शन रेग्मीले एनआरएनए यूकेसंग सहकार्यको अपेक्षासहित केही महत्वपूर्ण विषयमा प्रस्ताव राखेका थिए । ‘मैले आफ्नो प्राथमिकताको कार्यसूची नेपाल सरकारलाई पनि अवगत गराउने छु’, उनले भने । ‘बेलायतमा अथाह बजार सम्भावना छ । यहाँ रुचाइने सेवा, वस्तु उत्पादन गर्ने सम्भावना नेपालमा धेरै छ’, राजदूतले भने, ‘विशेष गरि कृषि उत्पादनमा बेलायतबाट प्रविधि तथा सीप, वन, वनस्पति, हर्बलजस्ता औषधिजन्य सामग्रीको बेलायतमा बजार प्रवर्धन र लगानीमा एनआरएनए यूकेसंग साझेदारी, सहकार्य गर्न मेरो प्रस्ताव छ ।’

कार्यक्रम सञ्चालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रम संयोजक एवम् उपाध्यक्ष रोजिना प्रधान राईले स्वागत मन्तव्य दिएकी थिइन् । आइसीसी सदस्य रामशरण सिम्खडाले हालै निधन भएका एनआरएनए यूकेका संस्थापकमध्येका एक डा चन्द्र लक्सम्बाप्रति श्रद्धाञ्जली स्वरूप उनको प्रोफाइल प्रस्तुत गरेका थिए ।

एनआरएनए यूकेको छैठौँ संघसंस्था प्रतिनिधिसभा काउन्सिल बैठकबाट जारी घोषणापत्र

एनआरएनए यूकेको छैठौँ संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक)
१४ मार्च, आइतबार, २०२१
घोषणापत्र

गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूकेको छैटौँ संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) १४ मार्च आइतबारका दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न भयो ।

१) ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल भावना अनुसार नेपालको संवैधानिक प्रावधान अनुरुप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता गर्न हाल संघीय संसदमा विचाराधिन ‘गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन’लाई संसदको चालू अधिवेशनबाट अनुमोदन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

२) गैरआवासीय नेपाली तथा बेलायतस्थित भूतपूर्व गोर्खाहरुको सम्पतिको अधिकार सुरक्षित गर्न वंशजको नेपाली नागरिक सरह पूर्ण अधिकारको ग्यारेन्टी गर्न यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।

३) लामो समयदेखि भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन तथा बेलायती सेनामा अन्य सैनिक सरह पूर्ण अधिकारको मागप्रति यो बैठक पूर्ण रुपमा ऐक्यवद्धता व्यक्त गर्दछ ।

४) नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानमा सहकार्यका लागि सदैव उत्साहित एनआरएनए यूके नेपालमा सुनिश्चित लगानीको वातावरण निर्माणका लागि समेत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, गैरआवासीय नेपाली संघको सक्रियतामा नेपालमा शुरु हुन लागेको १० अर्ब लगानी कोषमा सहयोग गर्न बेलायतभरका गैर आवासीय नेपालीमाझ यो बैठक अपिल गर्दछ ।

५) यही मार्च २१, २०२१ का दिन बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा सक्रिय सहभागिता जनाई ’इथ्निसिटी’ तथा ’मुख्य भाषा’ मा ‘नेपाली’ लेख्न सम्पूर्ण बेलायतवासी नेपाली समुदायमाझ यो बैठक आव्हान गर्दछ ।

६) गैरआवासीय नेपाली संघले अघि सारेको स्मार्ट एनआरएनए तथा संघको पुर्नसंरचनाप्रति यो बैठक एक्येवद्धता व्यक्त गर्दछ । साथै, एनआरएनए यूकेको निर्वाचनमा अनलाइन प्रविधिमार्फत अनलाइन भोटिङको व्यवस्थासहित गैरआवासीय नेपाली संघका पञ्जिकृत सदस्यहरुका लागि निःशुल्क सदस्यता वितरण गर्नेबारे सरोकारवालासंगको आवश्यक छलफलपश्चात अघि बढ्न यो बैठक निर्देश गर्दछ ।

७) नेपालमा पछिल्लो समय महिला तथा बालबालिकाहरुमाथि बढ्दो दुर्व्यवहार , बलात्कार तथा घरेलु हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यो बैठक त्यस्ता किसिमका घरेलु तथा यौनिक दुव्र्यवहार अन्त्यका लागि नेपाल सरकारसहित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराउँछ । साथै, त्यस्ता घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई मनोपरामर्शसहित क्षतिपूर्तिको व्यवस्था गरिदिन यो बैठक नेपाल सरकार समक्ष माग गर्दै राष्ट्रिय समन्वय परिषद बेलायतलाई समेत महिला सशक्तिकरणमा जोड दिन निर्देश गर्दछ ।

८) आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई पनि मतदानको समान अधिकार प्रदान गर्न यसअघि नै नेपालको सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ । त्यसका लागि विदेशस्थित नेपाली दूतावासमार्फत मतदाता नामावली संकलन र मतदानको व्यवस्था गर्न यो बैठक नेपाल सरकारको ध्यानार्कण गराउँदछ ।

९) गैरआवासीय नेपाली संघ यूकेको मौजुदा विधानमा भएका जटिलताहरुबारे यो बैठक गम्भीर मनन गर्दै समय सापेक्ष परिमार्जन तथा संशोधनका लागि तुरुन्तै आवश्यक प्रक्रिया चाल्न कार्यसमितिलाई पूर्ण अधिकार प्रदान गर्दछ ।

१०) गैरआवासीय नेपाली संघ यूके बेलायतस्थित नेपाली राजदूतावास, बुद्धिजिवी, पत्रकार, महिला, युवा, विद्यार्थी, कलाकार, साहित्यकार, व्यवसायी, पेशाकर्मी लगायत सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

११) यस काउन्सिल बैठक बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मीद्वारा प्रस्तुत गैरआवासीय नेपाली संघ यूकेसँग सहकार्य गरी अगाडि बढ्ने प्रस्तावको हार्दिक स्वागत गर्दै नेपाली दूतावास लण्डनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

१२) विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड १९) का कारण निधन हुने एनआरएनए यूके पूर्व उपाध्यक्ष एवम् गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बासहित बेलायत र विश्वभर ज्यान गुमाउने गैरआवासीय एवम् सम्पूर्ण नेपालीहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

१३) यस काउन्सिल बैठक नेपालको आर्थिक समृद्धि, विकास, पर्यटन प्रवर्धन, वैदेशिक लगानी प्रवर्धन, महिला सशक्तिकरण लगायतका एजेण्डामा आवश्यक साथ र सहभागिताका लागि समस्त गैरआवासीय नेपालीहरुमा अपिल गर्दछ ।

गैरआवासीय नेपाली संघ यूके, १४ मार्च २०२१

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्