चैत र वैशाखमा गोरखा दरबार सङ्ग्रहालय सबै दिन खुला

काठमाडौं । चैत्र ०३, आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङ्ग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।
सङ्ग्रहालयमा नेपाल एकीकरणका प्रणेता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार छन् । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा चित्रकलाका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति सङ्ग्रहालयमा अवलोकन गर्न पाउँछन् । विसं २०४३ मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी सङग्रहालयलाई पृथ्वी स्मृति सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा सङ्ग्रहालयका रुपमा विकास गरिएको थियो ।