इयुले लगायो म्यानमारमाथि विभिन्न प्रतिबन्ध

सहयात्रा टिभी

एजेन्सी । चैत ७, युरोपेली संघ (इयु)ले म्यानमारमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । इयुका विदेशमन्त्रीहरुको बैठकले म्यानमारका ११ अधिकारीमाथि युरोप भ्रमणमा प्रतिबन्ध लगाएको छ भने म्यानमारलाई आर्थिक सहयोग तथा हतियार बिक्री रोक्ने निर्णय गरेको छ ।

इयुका अधिकारीहरुले गरेको आग्रहअनुसार बसेको विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । इयुअन्तर्गत २७ देशका विदेशमन्त्रीको बैठकले म्यानमारको जननिर्वाचित सरकारलाई अपदस्थ गरेको सैनिक शासकले सत्ता हस्तान्तरण नगरेसम्म विभिन्न क्षेत्रमा प्रतिबन्ध थप्दै जाने निर्णयसमेत गरेको छ ।

इयुका एक अधिकारीले प्रतिबन्ध लगाइएका म्यानमारका ११ सैनिक तथा पुलिस अधिकारीको युरोपमा रहेको सम्पती रोक्का गर्ने तथा भिसा रद्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

गत फेब्रुअरी १ मा सैनिकले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेदेखि म्यानमारमा निरन्तर प्रदर्शनहरु भइरहेका छन् । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको मृत्यु भइसकेको छ ।

यो क्रममा दुई हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । देशमा संकटकालीन अवस्था आएपछि त्यहाँबाट एक हजारभन्दा बढी नागरिक भागेर भारत प्रवेश गरेका छन् ।

प्रकाशित : 20 March, 2021

प्रतिक्रिया दिनुहोस्