युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०८, पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ ।
कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्वीट्जरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरु भएका छन् ।
कासेलमा भेला भएका प्रदर्शनकारीले “लकडाउन अन्त्य गर” भन्दै प्लेकार्ड सहित सडकमा आएका थिए । अफ्रिकामा, म्याडागास्करका राष्ट्रपति आन्द्री रजोलिनाले कोरोनाभाइरसको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना गरेका छन् । केही समय मत्थर देखिन थालेको कोरोनाभाइरस सङ्क्रमण पछिल्ला समय पुनः सक्रिय भएको देखिएको छ । अघिल्लो साता विश्वभर कोरोनाभाइरसको सङ्क्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको दुई दिनपछि कोभिड देखिएको छ । प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बस्नु भएको र सामान्य लक्षण मात्र देखिएको बताएका छन् । फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा रहेको छ । तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन । विद्यालयहरु खुलेका छन् भने सैलुन र चकलेट पसलहरु खुलेका छन् ।
कोभिड विरुद्धको अस्ट्राजेनिका खोपको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्नेक्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् । अस्ट्राजेनिका कम्पनीले ९ करोड डोज खोप युरोपलाई दिने भने पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाई भएको बताउँदै आएको छ ।
जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भने, “हामीसँग निकासी रोक्नुबाहेक अर्को विकल्प छैन । यही नै अस्ट्राजेनिकालाई सन्देश हो । अन्य मुलुकका लागि खोप पठाउनुअघि युरोपलाई पहिले खोप दिनुपर्छ, नत्र हामी निर्यात रोकिदिन्छौं ।”