ट्राई एडभेन्चरको उपाधि त्रिभुवन आर्मी ‘ए’लाई

काठमाडौं । चैत्र ०९, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।
उक्त प्रतिस्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा छ दशमलव सात किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो र्याफ्टिङ समावेश गरिएको नेपाली सेनाले बताएको छ ।
प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बङ्गलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रो भएको टोलीलाई रु एक लाख तथा तेस्रो भएको टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई रु ५० हजार, दोस्रोलाई ३० हजार तथा तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिएको थियो ।