सुरु भयो नाचघरमा बुद्ध थिएटर फेस्टिभल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०९, भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्य सहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल आयोजना भएको छ । आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभल औपचारिक उद्घाटन सहित सुरु भएको फेस्टिभल शनिबारसम्म चल्ने बताईएको छ ।
उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर आयोजना गरेको फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ भने फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो ।
सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुनेछ । यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ । नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई समेटेको छ । १ घन्टा अवधिको नाटकको कथा प्रेमविनोद नन्दनले लेखेका हुन् । मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रवीन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ । फेस्टिभलको अन्य दिन पनि नाटक र बिभिन्न कार्यक्रम रहने जनाईएको छ ।