धार्मिक एवम् शान्तिपूर्ण क्षेत्र बौद्धमा अब टिकटक खिच्न नपाइने

काठमाडौं । चैत्र १०, श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि बौद्ध परिसरमा टिकटक भिडिओ खिँच्न निषेध गरिएको छ। बौद्ध परिसरमा दिनरात टिकटक भिडिओ बनाउँदा आगन्तुकहरुलाई ‘डिस्टर्भ’ गरेको भन्दै समितिले सूचना बोर्डसमेत राखेको बताईएको छ।
‘बौद्धनाथ क्षेत्रलाई धार्मिक एवम् शान्तिपूर्ण क्षेत्र मानिन्छ। तर यहाँ टिकटकको नाममा होहल्ला गरेको पाइयो,’ समितिका कार्यकारी निर्देशक बसन्त लामाले भने, ‘टिकटक भिडिओ बनाउँदा मोबाइलबाट चर्को स्वरमा गीत-संगीत बजाउँछन् र जथाभावी उफ्रदैँ हिड्छन्। त्यसैले, यसरी बोर्ड नै हालेर चेतावनी दिनुपर्ने अवस्था सिर्जना भएको हो।’
टिकटकका कारण शान्तपुर्ण वातावरण विथोलिएपछि समितिले स्थानीय बासिन्दा र प्रहरीसँगको सहकार्यमा यो निर्णय लिएको हो। यसको सही कार्यान्वयन भएको छ वा छैन भन्ने निगरानीका लागि १२ सुरक्षा गार्ड खटाएको पनि कार्यकारी निर्देशक बसन्तले जानकारी दिए। त्यस्तै, परिसर भित्र विभिन्न ठाउँमा सिसिटिभि पनि राखिएको छ।