कोरोनाको बढ्दो त्रास, सीमा नाकामा अझै कडाइ भएन

काठमाडौं । चैत्र १०, केही हप्तादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको छ । भारतमा उच्च बिन्दुमा पुगेर नियन्त्रण उन्मुख पुगिसकेको कोरोना भाइरसको सङ्क्रमण दर एक्कासी बढ्न थालेपछि नेपालमा पनि यसको डर बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेखेर उच्च सतर्कता अपनाउन र भारतबाट आउनेहरुको परीक्षण गर्न निर्देशन दिइसकेको छ ।
सरकारले सीमानाकामा निगरानी गर्न निर्देशन दिए पनि धेरैजसो नाकाहरुमा निगरानीको काम अगाडि बढ्न सकेको छैन । केही नाकाहरुमा बल्ल सुरु गर्ने तयारी छ । नेपाल र भारतबीचको सीमानाकामा अब त कोरोना सकिसक्यो र कहिल्यै पनि आउँदैन भनेझैँ मानिसहरु निर्बाध रुपमा आउनेजाने गरिरहेका छन् । मोरङको जोगबनी नाकामा पनि अहिलेसम्म कुनै पनि खालका सुरक्षाका उपायहरु अवलम्बन गर्न थालिएको छैन ।
कैलालीमा रहेको नेपाल भारतका सीमानाका गौरीफन्टा पनि धेरै मानिसको आवतजावत हुने महत्त्वपूर्ण नाका हो । तर यो नाकामा पनि अहिलेसम्म कुनै कडाइ गरिएको छैन । भीडभाड उस्तै छ । भारत जाने र आउनेको लर्को पनि उस्तै छ । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा भने सामान्य निगरानीको काम सुरु भएको छ । बिहान साढे ६ बजेदेखि ८ बजेसम्म भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई नाकामा ज्वरो नाप्न सुरु गरिएको छ । यस्तै एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण पनि थालिएको छ ।