आगामी वैशाखभित्र लगानी सम्मेलनको तयारी
सहयात्रा टिभी
काठमाडौं । चैत्र ११, कर्णाली प्रदेशमा आगामी वैशाखभित्र लगानी सम्मेलन हुने भएको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउनुका साथै प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो सम्मेलनको तयारी थालिएको बताईएको छ ।

लगानी सम्मेलनका लागि प्रदेश योजना आयोगले परियोजना बैंक निर्माणको काम शुरु गरेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हीरालाल रेग्मीले प्रदेश विकास परिषद्को बैठकबाट परियोजना बैंक अनुमोदन गरेपछि मात्र लगानी सम्मेलन आयोजना गरिने बताए । “सबै मन्त्रालयमा योजना माग गर्ने काम भइरहेको छ, विज्ञको परामर्शपछि मात्र कुन योजनामा कसको सहभागिता हुने भन्ने टुङ्गो लाग्नेछ”, उनले भने, “कस्ता योजना समावेश गर्ने, प्राथमिकता निर्धारण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” कर्णालीमा उद्योग, ऊर्जा र पर्यटनको अत्यधिक सम्भावना भएकाले यस्ता योजनाले प्राथमिकता पाउने जनाईएको छ ।
परियोजना बैंकमा प्राथमिकता प्राप्त ठूला आयोजना समेटिने छन् । प्रदेश सरकारले परियोजना बैंकको चर्चा गर्न थालेको दुई वर्ष बिते पनि बल्ल मूर्तरुप दिन थालिएको छ । आर्थिक वर्ष २०७५/७६ मा परियोजना बैंक निर्माण गर्ने प्रदेश सरकारको उद्देश्य थियो । परियोजना बैंक निर्माण भएपछि आव २०७८/७९ को बजेटमा ती कार्यक्रमलाई समावेश गरिनेछ ।


